FAQs Complain Problems

साक्षर नेपालगञ्ज घोषणाका लागि विशेष अभियान !!

नेपालगञ्ज, पुस १ गते । नेपालगञ्जलाई साक्षर नगर घोषणाका लागि विशेष अभियान सञ्चालन भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले बिहिवार पत्रकार सम्मेलन गरि फागुन अन्त्यसम्म साक्षरता अभियान सञ्चालन गरि फागुन मसान्तमा नेपालगञ्जलाई साक्षर नगर घोषणा गर्न लागिएको जनाएको छ । उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले अबको एकसाता निरक्षरहरुको तथ्यांक संकलन गरि ४५ दिने साक्षरता कक्षा सञ्चालन गरिने बताउनुभयो । साक्षरता कक्षा सञ्चालनका लागि नगरभित्रका वाल विकास शिक्षकलाई परिचालन गरिने भएको छ । वाल विकास शिक्षकहरुलाई उप–महानगरपालिकाले  साक्षरता कक्षा सञ्चालनका लागि आवश्यक सहजिकरण गरेको जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत सुवेदीले  साक्षरता अभियान निरन्तर सञ्चालनका लागि समेत पहल गर्ने बताउनुभयो । नेपालगञ्जमा १५ देखि ६० वर्ष उमेर समूहका हाल करिब १५ हजार निरक्षर रहेको अनुमान छ । उनीहरुलाई विशेष साक्षरता कक्षा सञ्चालन गरि सुचक पुरा गरेर साक्षर नगर घोषणा गर्ने तयारी गरिएको सुवेदीले बताउनुभयो ।

उप–महानगरपालिकाका शिक्षा अधिकृत भिमवहादुर बुढाले साक्षर उप–महानगरपालिका घोषणाका लागि आवश्यक कार्ययोजना बनाएर अघि बढ्न लागिएको बताउँदै आम नगरबासी लगायत सबैपक्षको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो । साक्षर नगरसँगै वाल विवाहमुक्त नगर घोषणा अभियान पनि सँगसँगै लैजान लागिएको उपमहानगरपालिकाले जनाएको छ ।

Show in Slider: