FAQs Complain Problems

सरसफाई अभियानमा बैंकको सहयोग !

सरसफाई अभियानमा बैंकको सहयोग !!

नेपालगञ्ज फागुन १४ गते– नेपालगन्जको सरसफाई, ट्राफिक व्यवस्थापन र सुरक्षामा सहकार्य गर्ने बैंकको प्रतिवद्धता कार्यान्वयन हुँदैछ । बैकिङ क्षेत्रसँगको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिकाद्धारा शुरु गरिएको नगर सौन्दर्यकरण र शान्ति सुरक्षा पहलमा आजदेखि बैंकहरुले हातेमालो गरेका छन् । फोहर व्यवस्थापनका लागि नगरमा डस्टविन राख्ने, यातायात पार्किङका लागि मार्किङ, स्थल व्यवस्थापन गर्ने र जनधनको सुरक्षार्थ सम्वेदनशिल स्थानमा सिसी टिभी जडान गर्ने लगायतको तयारी गरेको उपमहानगरपालिकाको अभियानलाई सफल र प्रभावकारी बनाउन हिमालयन बैंक लिमिटेडले आज आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत एक लाख पचास हजार(१,५००००) को सहयोग रकम हस्तान्तरण गरेको छ । उक्त रकमको चेक बैंकका नेपालगञ्ज शाखा प्रबन्धक शैलेन्द्रमान श्रेष्ठले नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धबलशम्शेर राणालाई एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा संक्षिप्त प्रतिकृया व्यक्त गर्दै नगरप्रमुख डा. राणाले नगर फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा नगर क्षेत्रमा सिसिटीभि जडान जस्ता कार्य सबै नगरबासीको तथा संघ संस्थाको साझा कार्यक्रम भएकोले सबैको सहकार्यको आव्हान गर्दै सहयोगको लागि हिमालयन बैंकलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले अन्य बैंकहरुले पनि सहयोगको प्रतिवद्धता व्यक्त गरेकाले चाँडै सहकार्यले सार्थक रुप लिने विश्वास पनि व्यक्त गर्नु भयो । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेल, प्रेस सल्लाहकार शुक्रऋषि चौलागाई, जनमत अर्धसाप्ताहिकका सम्पादक एवं बरिष्ठ पत्रकार पूर्णलाल चुके, नेपाल पत्रकार महासंघ बांकेका पूर्व अध्यक्ष रुद्र सुबेदी, नेपाल प्रेस युनियन बांकेका पूर्व अध्यक्ष नरेन्द्र थापा लगायतको उपस्थिति रहेको थियो । उपमहानगरपालिकाका अनुसार बंैकको आर्थिक सहयोगलाई कोषमा जम्मा गरि व्यवस्थित परिचालन गरिनेछ ।