FAQs Complain Problems

सदरलाइन सडक किनारका संरचना भत्काउन शुरु !

नेपालगञ्ज,२१ बैशाख। 

नेपालगञ्जको मुख्य बजार सदरलाइन सडक किनारका संरचना हटाउन शुरु गरिएको छ ।
सदरलाइन सडक निर्माण तथा विस्तार कार्यलाई तिव्रता दिन नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि सडक किनारका सम्पूर्ण संरचना भत्काउन शुरु गरेको छ ।
उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलाशले सदरलाइन सडक निर्माण कार्यलाई निरन्तरता दिन आदेश दिएको भोलीपल्टै उपमहानगरपालिकाले डोजर लगाएर सडक किनारका सडकपेटी, वराण्डा, सीढीं, देवाल लगायतका अवरोधहरु किनारा लगाएको हो । सदरलाइनका घरधनी पार्वती देवी तमोली सहितका १४ जनाले नेपालगञ्ज उपमहानगरपालिका, शहरी विकास परियोजना, नेपालगञ्ज उद्योग वाणीज्य संघलाई विपक्षी बनाई मुद्धा दायर गरेपनि अदालतले निर्माण कार्य रोक्न नपर्ने गरि आदेश दिएको थियो । त्रिवेणीमोडदेखि नगर भवनसम्मको १४ मिटर चौडा सडक खाली गर्न गराउन सूचीत गरिएपनि घरधनीले अटेर गरेपछि उपमहानगरपालिका बाध्य भएर संरचना हटाउन कस्सीएको हो । जिल्ला प्रशासन कार्यालय अगाडीबाट शुरु गरिएको सडक अवरोध संरचना भत्काउने कार्य त्रिभुवन चौक सम्म पुग्ने छ । निर्धारित समयमा सडक निर्माण सम्पन्न गर्न शुक्रबारबाट थप तदारुकता देखाइएको उपमहानगरपालिकाले जनाएको छ।

क्षेत्रीय शहरी विकास आयोजनामार्फत अहिले नगरमा सडक, नाला निर्माणको काम भइरहेको छ । सदरलाइनमा अहिले त्रिवेणीमोडदेखि सडक, नाला निर्माण भइरहेको छ । सडक किनारका संरचना डोजरमार्फत भत्काइदा नगर प्रमुख डा धवल शम्शेर राणा, उपप्रमुख उमा थापामगर, आयोजनाका इन्जिनियर शैलेन्द्र महर्जन, वडा अध्यक्ष लगायतको उपस्थिती रहेको थियो । सडक खाली गराउने अभियानमा स्थानीयको पनि साथ र हौसला देखीएको थियो । नगर उपप्रमुख उमा थापामगरले सडकमापदण्ड अनुसार नै संरचना हटाएर निर्माण कार्यलाई अघि बढाईने बताउँदै सबैको साथ र सहयोगको आवश्यक्ता औल्याउनु भयो ।

Show in Slider: