समाचार
सडकपेटी खाली गराउन डोजर लिएर सडकमा नगर प्रमुख विष्ट !!
नेपालगञ्जको सडकपेटी खाली गराउन सुरु गरिएको छ । सडकपेटी अतिक्रमण गरी पसल व्यवसाय गरेकाहरुलाई हटाउन थालिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट सडकपेटी खाली गराउन डोजर लिएर बजारमा निस्किनुभएको छ । सडकपेटी अतिक्रमण गरेर संरचना निर्माण गर्ने, पसल व्यापार चलाउने काम भएपछि त्यस्ता संरचना हटाउन थालिएको हो । नेपालगञ्जको विपी चोकबाट सडकपेटी खाली गराउन थालिएको हो । नेपालगञ्ज उपमहानगरपालिकालाई व्यवस्थित शहरका रुपमा विकास गर्नका लागि यो अभियान सुरु गरिएको बिष्टले बताउनुभयो ।
उहाँले सडकपेटी कब्जा गरी बजार व्यवसाय सञ्चालन गर्दा सर्वसाधारण नागरिकलाई हिँड्डुल गर्न गार्हो भएपछि त्यसलाई क्लियर गर्ने काम सुरु गरिएको बताउनुभयो । बजारलाई सुन्दर र व्यवस्थित बनाउन अतिक्रमण हटाउन थालिएको नगर प्रमुख विष्टका भनाई छ । बजार क्षेत्रमा नालामाथि पनि अतिक्रमण गरिएको पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सडकपेटी खाली गर्न केही महिना अघिदेखि नै माइकिंग गरेर जानकारी गराउँदै आएको छ ।