FAQs Complain Problems

योजनाका काम छिटो सक्न मेयर राणाको निर्देशन !!

नेपालगञ्ज, कात्तिक ७ गते । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा.  धवल शम्शेर राणाले चालु आर्थिक वर्ष २०७८÷७९ का योजनाको काम छिटो भन्दा छिटो पुरा गर्न मातहतका प्राविधिक तथा कर्मचारीलाई निर्देशन  दिनुभएको छ । आईतबार उप–महानगरपालिका अन्तर्गतका विषयगत शाखा प्रमुखहरुको संयुक्त बैठकमा नगर प्रमुख राणा र उपप्रमुख उमा थापा मगरले सम्पूर्ण आयोजनाहरुको काम छिटो भन्दा छिटो गुणस्तरयुक्तरुपमा सम्पन्न गर्न अहिलेदेखि जुट्न निर्देशन दिनुभयो । नगर प्रमुख राणाले समयभित्रै काम सम्पन्न नगर्ने र निर्माण कार्यमा सन्तोषजनक प्रगति गर्न नसक्ने निर्माण कम्पनीलाई नियमानुसार कारवाहीको प्रक्रिया तत्काल सुरु गर्न निर्देशन दिनुभयो ।

राणाले नगरभित्र सञ्चालित सम्पूर्ण आयोजनाहरुको कार्य प्रगति बारे जानकारी लिदै अधुरा आयोजनाहरु पनि छिटो भन्दा छिटो सम्पन्न हुने वातावरण बनाउन आग्रह गर्नुभयो । आयोजनाहरुको लागत स्टिमेट, बोलपत्र आव्हान लगायतका बाँकी रहेका कामहरु पनि छिटो भन्दा छिटो सम्पन्न गरी छिटो काम सञ्चालन गर्न नगर प्रमुख राणाले आग्रह गर्नुभयो । सो अवसरमा नगर उपप्रमुख उमा थापा मगरले नगरभित्र महत्वपूर्ण कामहरु सञ्चालन भईरहेको भन्दै निर्माण कार्यमा कुनैपनि खालको समस्या हुन नदिने गरी काम समयभित्रै हुने वातबरण बनाउन कर्मचारी तथा प्राविधिकहरुलाई निर्देशन दिनुभयो ।

Show in Slider: