FAQs Complain Problems

समाचार

नेपालगञ्जमा सामुदायिकसँगै संस्थागत विद्यालयको पनि अनूमगमन !!

नेपालगञ्ज, साउन १८ । नेपालगञ्ज उप–महानगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिकसँगै संस्थागत विद्यालयको पनि आकस्मिक अनूगमन थालेको छ । नगर प्रमुख प्रशान्त विष्ट गतसातादेखि आकस्मिक रुपमा विद्यालयहरुको अनूगमनमा निस्कने गर्नुभएको छ । बुधबार शिक्षा शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा सहित नगर प्रमुख विष्टले बसुदेपुरस्थित जगतज्योती माध्यामिक विद्यालय, महाराजा माजि पुरैना र जय बागेश्वरी माध्यामिक विद्यालयको अनुगमन गर्नुभयो ।  जगतज्योती माविमा नियमित पठन पाठन राम्रो देखिएपनि विद्यालयमा प्राचार्य ईश्वर पौडेल सहित हाजिर रजिष्ट्ररमा अनुपस्थित ५ जना शिक्षकहरुलाई गयल गर्दै टोलीले समयमै विद्यालयमा पुगेर हाजिर गर्न निर्देशन दिएको छ । यसैगरी महाराजा माविमा विद्यार्थी र शिक्षकहरु कोठा बाहिर फेला पारेपछि अनूगमन टोलीले नियमित पठनपाठनका लागि निर्देशन दिएको थियो ।

संस्थागत विद्यालयको रुपमा पहिलो पटक जय बागेश्वरीबाट टोलीले अनूगमन थालेको हो । सोक्रममा नगर प्रमुख विष्ट सहितको टोलीले विद्यालयको विभिन्न विषयको जानकारी लिएको थियो । टोलीले शौचालय सहित भौतिक अवस्था र छात्रवृत्तिका विषयमा जानकारी लिएको थियो । नगर प्रमुख विष्ट र शाखा प्रमुख थापा सम्मिलित अनूगमन टोलीले तीनवटै विद्यालयका विद्यार्थी तथा शिक्षकसँग समेत प्रत्यक्ष परामर्श गरेको थियो । नगरको सुधारका लागि शिक्षामा विशेष जोड दिइएको भन्दै नगर प्रमुख विष्टले शैक्षिक सुधार भएपनि अन्य क्षेत्रमा सुधार देखिने भएकाले शिक्षामा विशेष प्राथमिकता दिइएको बताउनुभयो । उहाँले अनूगमन जुनसुकै समयमा र जुनसुकै विद्यालयमा पनि हुन सक्ने बताउनुभयो । अनूगमनलाई निरन्तरता दिदै विद्यालयहरुको आवश्यक सुधारका लागि पनि क्रमश पहल गरिने नगर प्रमुख विष्टले बताउनुभयो । गतसातादेखि सुरु भएको अनूगमनका कारण सामुदायिक विद्यालयमा सकारात्मक प्रभव पारेको देखिएको छ । नगर प्रमुख विष्टले आफुले बाल्यकालमा अध्ययन गरेको सामुदायिक विद्यालय महेन्द्र मावि र संस्थागत विद्यालय जयबागेश्वरीबाट अनूगमन सुरु गर्नुभएको हो ।

Show in Slider: