FAQs Complain Problems

रानी तलाउमा जल विहार शुरु !!

नेपालगञ्ज – पुनःनिर्माणपछि नेपालगञ्जको रानीतलाउमा जल विहार सञ्चालनमा ल्याइएको छ । नेपालगञ्ज उपमहानगरपालिका ८ स्थित रानी तलाउ डेढदशकपछि पुनः सञ्चालनमा ल्याइएको हो । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पुननिर्मित रानीतलाउको उद्घाटन गर्नु भएपछि दोश्रो पटक जलविहारको शुरुवात भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको २२ लाख ७८ हजार लागतमा रानी तलाउको पुनःनिर्माण गरिएको हो । उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणा पहिलो पटक मेयर हुँदा २०५६ सालमा जीर्ण रहेको पोखरी रानीतलाउको जीर्णोद्धार गरि नौका विहार सञ्चालन गरिएको थियो । पुनः उहाँकै सक्रियतामा रानी तलाउले मुहार फेरेको छ । उद्घाटन कार्यक्रमका प्रमुख अतिथी रहनु भएका मुख्यमन्त्री पोखरेलले नेपालगञ्ज छिमेकी मुलुक भारतको ट्रन्जिट प्वाइन्ट शहरको रुपमा रहेको भन्दै पर्यटन विकासको पुर्वाधारमा जोड दिनु भयो । एतिहासिक नगरी नेपालगञ्जलाई आर्थिक हवसँगै हरियाली शहरका रुपमा स्थापीत गर्न पनि उहाँले सुझाव दिनु भयो । नेपालगञ्जले पुर्वाधार विकासमा फड्को मारेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले नेपालगञ्जको सरसफाईमा प्रदेश सरकारको सदैव सहयोग रहने जानकारी दिनुभयो । नगर प्रमुख डा राणाले नेपालगञ्जलाई वृहत्तर शहरका रुपमा विकास गर्न सबै राजीतिक दल एक हुनुपर्ने भन्दै महानगरको अभियानलाई साथ दिन अपील गर्नु भयो ।
कार्यक्रममा कृषि सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति एवं पुर्व उपसभामुख पूर्णा सुवेदी, प्रतिनीधी सभा सस्य महेश्वर गहतराज(अथक), प्रदेश सभा सदस्य आई आईपी खरेल, जिल्ला विकास समन्वय समितिका संयोजक अजय श्रीवास्तव, नेकपा बाँकेका कार्यदल सदस्य अशोक कोइराला लगायतले रानी तलाउ सञ्चालनले पर्यटन विकासमा मद्यत पुग्ने भन्दै यसको स्थायीतव र निरन्तरको कामना दिनु भयो । नगर उपप्रमुख उमाथा मगरद्धारा स्वागत गरिएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधी, वडा अध्यक्ष, पेशागत संघ संगठनका प्रमुख, नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको थियो ।
प्लाष्टिकका चार वटा बोट (डुंगा) मार्फत आजैदेखि जलविहार शुरु गरिएको छ । आजका लागि निशुल्क गरिएकोमा भोलीदेखि ५ रुपैया प्रवेश शुल्क र २५ रुपैया बोटिङ शुल्क गरिएको छ भने ५ वर्ष मुनीकालाई भने निशुल्क गरिएको छ । उपमहानगरपालिकाका अनुसार चारैतिर पर्खाल निर्माण गरि जीर्ण बनेका भौतिक संरचना पुन निर्माण गरि रङरोगन गरिएको छ । बालबालिकाका लागि उद्यान, कटेज, बटुवा बस्नका लागि कुर्ची, खाजा, नास्ताका लागि क्यान्टिनको व्यवस्था गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

Show in Slider: