FAQs Complain Problems

समाचार

माटो परीक्षण गर्दै नेपालगञ्ज उपमहानगरपालिका !!

नेपालगञ्ज उपमहानगरपालिकाले माटो परीक्षण शिविर चलाएर माटोको अवस्थाबारे किसानलाई अवगत गराउन थालेको छ । माटोको वास्तविक अवस्था नबुझेर जथाभावी र अन्धाधुन्ध हिसाबले रासायनिक मलको प्रयोगका कारण माटोको गुणस्तर र उर्वराशक्ति घटिरहेका बेला त्यसको नियन्त्रणका लागि माटो परीक्षण शिविर सञ्चालन गरिरहेको कृषि शाखाले जनाएको छ ।

शाखा प्रमुख अम्बिका रिजालका अनुसार माटो तथा मल परीक्षण केन्द्र खजुराका विज्ञ टोलीद्वारा माटो परीक्षण भइरहेको छ । कार्यालय प्रमुख कोमल शाही नेतृत्वको विज्ञ टोलीले माटो परीक्षण गरिरहेको रिजालले बताउनुभयो । अघिल्लो दिन कृषकलाई जम्मा गरेर माटो परीक्षण प्रक्रियाका बारेमा अभिमुखीकरण गर्ने र भोलिपल्ट शिविर सञ्चालन गरेर परीक्षण गरिने रिजालको भनाई छ । अभिमुखीकरणमा नमुना संकलन कसरी गर्ने, कस्तो माटो परीक्षण गराउने, के के उल्लेख गर्ने लगायतका विषयमा कृषकलाई सिकाइन्छ । वडा नम्बर १९ मा ८० जना कृषकको माटो परीक्षण गरिएको कृषि शाखा प्रमुख रिजालले जानकारी दिनुभयो । विहान ७ बजेदेखि साँझ ५ बजेसम्म माटो परीक्षण गरिएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका आर्थिक विकास समिति संयोजक गोपाल पुनको अध्यक्षतामा शिविर सम्पन्न भएको थियो । त्यसक्रममा बोल्दै पुनले शिविरबाट किसानहरुले आफ्नो माटोको वास्तविक अवस्थाबारे जानकारी पाउने र त्यसले उनीहरुलाई लाभ पुग्ने विश्वास ब्यक्त गर्नुभयो । अब यसपछि वडा नम्बर २३ मा परीक्षण शिविर आयोजना गरिनेछ । माटोको गुणस्तर र उर्बराशक्ति बढाउन माटो परीक्षण शिविर गरिएको रिजालले बताउनुभयो । पछिल्लो समय कृषकहरुले माटोको अवस्था नबुझेर रासायनिक मलको प्रयोग बढाइरहेका छन् । अनियन्त्रित रासायनिक मलको प्रयोगले माटोको गुणस्तर खस्किरहेको विज्ञहरु बताउँछन् ।

Show in Slider: