FAQs Complain Problems

समाचार

नेपालगञ्जको धम्बोझीमा स्वचालित शौचालय !!

नेपालगञ्ज, माघ ६ गते । नेपालगञ्ज उप–महानगरपालिकाको धम्बोझीमा अत्याधुनिक स्वचालित शौचालय सोमबारदेखि संचालनमा आएको छ । संगीतमय स्वचालित शौचालयको उद्घाटन गर्दै नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले स्वचालित शौचालय संचालनमा आउनु मात्रै उपलब्धी नभएको भन्दै यसको सहि सुदपयोगमा जोड दिनुभयो ।

शौचालयलाई सफा राख्नु आफैमा चुनौतीपूर्ण हुने भन्दै प्रमुख राणाले सबैको साथ आवश्यक भएको बताउनुभयो । शौचालयमा भित्र प्रवेशका लागि स्वीच थिचेपछि ढोका खुल्छ, भित्र प्रवेश हुनासाथ सुमधुर संगीत बज्छ । हात थापेपछि साबुन र पानी पनि आफै आउँछ । नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण ईञ्जिनियर प्रकाश डिसीका अनुसार एसएनभी नेदरल्याण्ड विकास कोषले संचालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाई तथा स्वच्छता कार्यक्रम अन्तर्गत ४६ लाख ३६ हजार रुपियाको लागतमा स्वचालित शौचालय निर्माण गरिएको हो ।

नेदरल्याण्ड विकास नियोगले ८१ लाख १६ हजार रुपियामा निर्माण गरेका तीनवटा सुलभ शौचालय उप–महानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदी, वडा नम्बर २ का अध्यक्ष सुनिल सिंह हमाल, सुशासन समितिका संयोजक नरबहादुर विष्ट लगायत सहभागी हुनुभएको थियो ।

Show in Slider: