FAQs Complain Problems

बजार अनुगमनमा कडाई, खसीको मासु भन्दै बाख्रीको मासु बेचेको भेटीयो ।

नेपालगञ्ज असोज २६ गते– उपभोक्ताको हितलाई मध्यनजर गर्दै नेपालगञ्जमा बजार अनुगमनलाई कडा पारिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वमा आज दिउसो गरिएको मासु तथा मिठाई पसलमा अनुगमनका क्रममा उपभोक्ताको स्वाथ्यमाथि खेलवाड गरिएको पाइएको छ । उपभोक्ता हित संरक्षण समिति संयोजक एवं कार्यवाहक नगर प्रमुख उमा थापामगर नेतृत्वको टोलीले मासु र मिठाई गरि एक दर्जन पसलमा अनुगमन गरेको हो । अनुगमनको क्रममा खसीको मासु भनेर बाख्रीको मासु बेचेको समेत पाइएको छ । रामलीला मण्डीस्थित मासु मण्डीको अनुगमनमा खुला रुपमै खसीको भनेर बाख्रीको मासु बचेको फेला परेको हो । पसल स्वीकृतको कागज समेत नराखेका आसिम कुरेसीको पसलबाट ६ केजी बाख्राको मासु जफत गरि नष्ट गरिएको छ ।

अन्य मासु पसलमा समेत फोहर देखिएको, फ्रिजमा जथाभावी मासु कोचिएको, मासु काटने ठाउँमै दर्जनौको संख्यामा खसी बोका हुलेर राखीएको पाइएको उपमहानगरपालिकाका निरिक्षण शाखाका प्रमुख पवन कनोजीयाले जानकारी दिनु भयो । धम्वोझीस्थित केही मिठाई पसलमा गरिएको अनुगमनमा मिठाई बनाउने स्थानमा फोहर देखिएको, अनावश्यमक रंंग प्रयोग गरिएको र आवश्यक कागजात नराखेको पाइएको छ । सबै किसिमका मापदण्ड पूरा गरेर उपभोक्ताको अधिकारलाई ध्यान राखेर मात्र व्यवसाय गर्न अनुरोधसहितको निर्देशन गरिएको उपप्रमुख एवं अनुगमन टोली संयोजक थापामगरले बताउनु भयो । अनुगमनको पहिलो चरणमा सचेतनासहित अभियान थालीएपनि अब नियमित अनुगमनमा कमजोरी भेटीए कानूनी कारबाही गरिने उहाँको भनाइ छ । अनुगमनमा उपमहानगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेल, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, वाणीज्य कार्यालय, गुणस्तरीय तथा नापतौल कार्यालय लगायतका प्रतिनीधी रहनु भएको थियो ।

Show in Slider: